रुकुमपूर्व, पुथाउत्तरगंगा — विद्यार्थीहरूको खेल प्रतिभा पहिचान गर्दै जिल्ला, प्रदेश र केन्द्रसम्म सहभागिताका अवसर प्रदान गर्ने उद्देश्यसहित सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिजो पुथाउत्तरगंगा गाउँपालिका–५ स्थित श्री देउराली माध्यमिक विद्यालय हुकाममा भव्य रूपमा उद्घाटन भएको छ।

गाउँपालिकाको आयोजनामा र देउराली माविको व्यवस्थापनमा भएको उद्घाटन कार्यक्रम शिल्ड सञ्चालन तथा निर्देशक समितिका संयोजक एवं सामाजिक विकास समितिका संयोजक टिकासाई घर्ती मगरको अध्यक्षतामा सम्पन्न भयो।

उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य दिलकुमारी बुढा प्रमुख अतिथि रहनुभएको थियो।

त्यस्तै गाउँपालिका अध्यक्ष पुणिराज घर्ती, प्रमुख जिल्ला अधिकारी सीता परियार, गाउँपालिका उपाध्यक्ष नरपुरा बुढा पुनलगायतको विशेष आतिथ्यता रहेको थियो।

त्यसक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उमाशंकरप्रसाद यादव, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख सुमनकुमार भण्डारी, प्रमुख अनुसन्धान अधिकृत सङ्गीत भट्ट, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतम, शिक्षा समिति सदस्य जनबहादुर घर्ती लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन देउराली माविका शिक्षक शिशिर घर्ती मगरले गर्नुभएको हो।

आजदेखि विभिन्न खेल विधामा प्रतिस्पर्धा सुरु

गाउँपालिकाभित्रका ८ वटै माध्यमिक विद्यालयका १८ वर्ष मुनिका छात्र–छात्रा सहभागी रहेका छन्।

प्रतियोगितामा हुने खेलहरू:

  • दौड : १००, २००, ४००, ८००, १५००, ३००० मिटर
  • रिले : ४×१०० मिटर, ४×४०० मिटर
  • जम्प : हाइजम्प, त्रिपलजम्प, लङजम्प
  • थ्रो : ज्याभलिङ, सटफुट
  • अन्य खेलकुद : छात्र–छात्रा भलिबल तथा कपर्दी

सहायक शिक्षा अधिकृत रामप्रसाद खड्काका अनुसार खेल प्रतिस्पर्धा आजबाट औपचारिक रुपमा सुरु भएको हो।

हाजिर–जवाफमा देउराली मावि प्रथम

उद्घाटनकै  अगाबै सञ्चालन गरिएको हाजिर–जवाफ प्रतियोगितामा:

🥇 देउराली मावि हुकाम — प्रथम

🥈 पुथा हिमालय मावि मैकाड — द्वितीय

🥉 पर्वत मावि कोल — तृतीय

🏅 सान्त्वना — सिद्धमण्डली मावि राङ्गसी

कुल ८ विद्यालयले सहभागिता जनाएका थिए।

२१ मंसिरमा समापन हुने

चार दिनसम्म चल्ने यो प्रतिष्ठित प्रतियोगिता मंसिर २१ गते समापन हुने कार्यक्रम छ।